काठमाडौं - प्रधानमन्त्री बालेन शाहले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद्‌मा कडा आपत्ति जनाएको छ। एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले संसद्‌मै क्षमा माग्नुपर्ने अडान लिइन् । सोमबार बैठक सुरु हुनासाथ विरोध स्वरूप विपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानबाट उठेका थिए।

उपनेता अर्यालले प्रधानमन्त्रीको कूटनीतिक अपरिपक्वता र पदीय जिम्मेवारीमाथि प्रश्न उठाइन् ‘प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिनुभयो,’ उपनेता अर्यालले भनिन्, ‘प्रधानमन्त्रीबाट यो भुल सुधार गरियोस् र संसद्‌मा क्षमा याचना गरियोस्।’ एमालेले प्रधानमन्त्रीले माफी नमागेसम्म सदनको कारबाही अगाडि बढ्न नदिने चेतावनी दिँदै आएको छ ।

गत जेठ १७ मा प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको धेरै सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उनले दिएको एउटा अभिव्यक्तिले अहिले राजनीतिक रूपमा ठुलो विवाद निम्त्याएको हो।