झापा:झापाको दमकमा एक किशोरीको हत्या गरी बोरामा हालेर फ्याँकेको अवस्थामा शव फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

गत जेठ १६ गते झापा जिल्ला दमक नगरपालिका वडा नम्बर १० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र पोको पारि राखिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो।

मृतकका पिता नारायण तिवारीले दमक नगरपालिका वडा नम्बर ८ वसन्त टोल निवासी अन्दाजी २१ वर्षीय रोमा भनिने रमा तिवारी भएको पुष्टि गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो। सुरुमा प्रहरीले रोमाका प्रेमीमाथि शंका गरे पनि संलग्नताको आधार नदेखिएपछि थप अनुसन्धान  गरेपछि प्रहरी आरोपीसम्म पुग्न सफल भएको हो।

घटनालगत्तै प्रहरी टोली अनुसन्धानमा जुटेको थियो। टोलीले घटनास्थलको सूक्ष्म निगरानी, प्राविधिक विश्लेषण तथा घटना भएको स्थल वरपरको सिसिटिभी फुटेजको अध्ययन गरी घटनामा संलग्न व्यक्तिको पहिचान गरेको झापा प्रहरीले जनाएको छ।

हत्यामा संलग्न रहेको आरोपमा साविक भारतको बिहार राज्य, अररिया जिल्ला, ग्राम पञ्चायत मिरसियाकला, थाना भरगामाका स्थायी बासिन्दा भई हाल दमक नगरपालिका वडा नम्बर ५ मा डेरा गरी टाइल्स तथा मार्बल जडानको ठेक्कापट्टाको काम गर्ने ३४ वर्षीय रमेशकुमार भन्ने  राकेश कुमार पण्डित  रहेको प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो। 

प्रहरीले जेठ २१ गते राति ११ बजे उनको डेरा कोठाबाट पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतको कमान्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जजेठ १३ गते मध्यरातमा उनीहरूबीच भेटघाट भएको थियो। दमकमा कार्यरत टाइल्स मिस्त्री पण्डित र मृतक रोमाबीच पुरानै चिनजान रहेको र घटना भएको रात पैसाको लेनदेनलाई लिएर विवाद उत्पन्न भएको अनुसन्धानबाट खुलेको  छ।

आरोपीको डेरा नजिकै विवाद बढेपछि राति ११ बजेको आसपासमा राकेशले रोमाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। आफूले हत्या गरेको आरोपीले बयानका क्रममा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी बसुन्धरा खड्काले जानकारी दिनु भयो। 

प्रहरीका अनुसार, युवतीको हत्या गरेपछि पण्डितले आफ्नै कोठाबाट सेतो बोरा ल्याएर शवलाई प्याक गरेका थिए। राति नै उनले भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकलमा शव लोड गरेर दमक-१० स्थित रतुवा खोलाको पुलमुनि  फालेको थिए।  शव फालिएको ३ दिनपछि अर्थात् जेठ १६ गते मात्र स्थानीयले बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पक्राउ परेका पण्डितविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ र १८ बमोजिम ज्यान सम्बन्धी कसुर र जबरजस्ती करणी कसुरमा मुद्दामा 
झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य भैरहेको झापा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले जानकारी दिनु भयो।