काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सम्पत्ति विवरण मागेकोप्रति आक्रोश व्यक्त गरेका छन्। बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले आफ्नो सम्पत्ति विवरण माग्ने सरकारलाई जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको घरलाई देखाउँदै त्यही खरानी लगे हुन्छ भनेका छन् ।

ओलीले भने, ‘मेरो घर भदौ २४ गते आगो लगाइयो। मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार। के को सम्पत्ति विवरण ?’

उनले सम्पत्ति छानबिन आयोगलाई अस्वीकार गरेका छन् । विपक्षीलाई फसाउन आयोग गठन गरिएको उनको दाबी छ।   ‘यस्ता आयोगलाई म चाँही सम्पत्ति विवरण भरेर पठाउँदिन। जे जे गर्न सक्छ, गरोस्,’ ओलीले भने। वर्तमान सरकार षड्यन्त्रको उपज भएको र देशद्रोही क्रियाकलाप गर्ने प्रायोजित भवितव्यले बनेको आरोप लगाए ।