काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाहको हाजिरी विवरण सार्वजनिक गर्न माग गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले संसद् नियमावलीको नियम ४(१) अनुसार प्रत्येक सदस्यले बैठकमा उपस्थित भई हाजिरी गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले हालसम्मका बैठकहरूमा कति पटक सहभागिता जनाए र कति पटक हाजिरी गरेका छन् भन्ने विवरण उपलब्ध गराउन अभिलेख शाखालाई निर्देशन दिन सभामुखसमक्ष आग्रह गरे।
साम्पाङले प्रधानमन्त्री संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने माग पनि गरे। उनले देशको सीमा, अखण्डता र सार्वभौमसत्ताजस्ता विषय पार्टी, जाति, धर्म वा वर्गभन्दा माथिका राष्ट्रिय मुद्दा भएकाले यसमा सत्ता र प्रतिपक्षबीच कुनै विभाजन हुन नसक्ने बताए।
उनले नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालका कुन–कुन क्षेत्रमा भारतीय अतिक्रमण भएको छ भन्ने विषय प्रधानमन्त्रीले संसद्मा आएर प्रमाणसहित स्पष्ट पार्नुपर्ने धारणा राखे। तथ्य र प्रमाणबिना सरकारले यस्ता विषयमा अभिव्यक्ति दिन नहुने उल्लेख गर्दै साम्पाङले प्रधानमन्त्रीको भनाइ पुष्टि हुन नसके तीन करोड नेपाली जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे। साम्पाङले राष्ट्रिय हितका विषयमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिएका थिए।


0 comment