काठमाडौं - सभामुख डोलप्रसाद अर्यालले संसद्‌ बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने र नोक्सानी पुर्‍याउने सांसदहरुमाथि  छानबिन गर्न समिति गठन गरेका छन्।

हिजोको बैठकमा केही सदस्यहरूले आपत्तिजनक व्यवहार प्रदर्शन गरेको र संसद् भवनभित्र भौतिक हानी-नोक्सानी पुर्‍याएको विषयमा सभामुखले छानबिन गर्न समिति गठन गरेका हुन्। 

सभामुखको निर्देशन अनुसार प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा एक छानबिन समिति गठन गरिएको छ। समितिको सदस्यहरूमा संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख रहेका छन्। बैठक समाप्त भएपछि प्राप्त विस्तृत विवरण मुचुल्काका आधारमा सभामुखले उक्त घटनाको थप जाँचबुझ गर्न निर्देशन दिएका थिए।

गठित समितिलाई घटनाको सत्यतथ्य जाँचबुझ गरी सात दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेस गर्न कार्यदेश दिइएको छ। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम दोषी सांसदहरूमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने सभामुख अर्यालले जानकारी गराए।