काठमाडौं - नेकपा (एमाले) का सांसद ऐन महरले प्रधानमन्त्रीको पोसाक र कार्यशैलीप्रति आपत्ति जनाउँदै यसले संसद्को उपेक्षा र अपमान गरेको बताएका छन् ।

सोमबार संसद्‌मा बोल्दै महरले प्रधानमन्त्री सेनाले आयोजना गरेका कार्यक्रमहरूमा औपचारिक नेपाली पोसाक दौरा-सुरुवाल लगाएर जाने तर गरिमामय संसद्‌मा आउँदा भने फुटबल खेल्ने जस्तो पोसाकमा आउने गरेको भन्दै कडा आपत्ति जनाए।

"संसद् कुनै फुटबल खेल्ने ठाउँ वा आफ्नो फेसन शो गर्ने ठाउँ होइन, यसको आफ्नै मर्यादा र गरिमा छ," महरले भने, "सदनप्रति प्रधानमन्त्रीको यस्तो दृष्टिकोणले संसद्लाई नजरअन्दाज र अपमान गरेको प्रस्ट पार्छ।"

उहाँले प्रधानमन्त्रीको यस्तो व्यवहार र संसद्‌मा दिएका गैरजिम्मेवार अभिव्यक्तिहरू तत्काल संसद्को रेकर्डबाट हटाइनुपर्ने माग गरे। साथै, प्रधानमन्त्रीले संसद्को मर्यादा कायम राख्न र देशको सार्वभौमसत्तामाथि पुर्‍याएको चोटका लागि अविलम्ब देशवासीका नाममा माफी माग्नुपर्ने अडान समेत महरले दोहोर्‍याए।