काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाएका छन् ।
हिजो बोलाइएको सदनको बैठकमा प्रधानमन्त्रीले नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ भनी दिएको अभिव्यक्ति प्रति पार्टीले आपत्ति जनाउँदै विरोध गरेको हो । हिजो प्रधानमन्त्री शाह पूर्व तालिका बिना संसदमा उपस्थित भएका थिए ।
अध्यक्ष साम्पाङले विज्ञप्ति जारी गर्दै रास्वपा सभापति रवि लामिछाने भारत जानुअघि भारतलाई रिझाउन प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएको हुन सक्ने आशंका समेत व्यक्त गरेका छन् ।
‘प्रधानमन्त्रीको भनाइले नेपालको सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ भन्ने नेपाली जनताको मागलाई सामसुम पार्ने तथा नेपालले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रष्ट पारेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले बोलेको यो कुराले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थिति के हो भन्नेबारे गम्भीर अस्पष्टता व्यक्त गरेको छ ।’
पार्टीले नेपाली सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न र आफ्नै गरीब जनताका बस्ती (सुकुमबासी बस्ती) मा हमला गर्नमै सीमित राख्दै आएको सरकारले सिमानामा सेनालाई चियाउन समेत नपठाउनु तर उल्टै नेपालले भारतको सीमा धेरै ठाउँहरुमा मिचेको भन्नुले सीमा रक्षा र भौगोलिक अखण्डताप्रति प्रधानमन्त्री र सरकार प्रतिबद्ध नरहेको आरोप लगाईएको छ ।


0 comment