काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो संघर्ष गरेका पुराना राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी रहेको बताएका छन्।

शुक्रबार जारी अपानी–२ मा ओलीले नयाँ र पुरानाको बहसको नाममा लोकतान्त्रिक शक्तिहरूलाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गरेका छन्। उनले २३ र २४ भदौपछिको राजनीतिक घटनाक्रमले मुलुक प्रतिगमनतर्फ उन्मुख भएको भन्दै त्यसलाई संवैधानिक र लोकतान्त्रिक मार्गमा फर्काउन प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा अघि सारेको दाबी गरेका छन्।

अन्य लोकतान्त्रिक दलहरूले उक्त एजेन्डामा साथ नदिएकाले एमाले निर्वाचनमा सहभागी हुन बाध्य भएको उनको भनाइ छ। साथै, निर्वाचनको परिणाम एमाले मात्र होइन, प्रमुख लोकतान्त्रिक दलहरूको पक्षमा पनि नरहेको उल्लेख गर्दै उनले निर्वाचन प्रक्रिया र परिणाम स्वाभाविक नभएको संकेत गरेका छन्। ओलीले यसबारे पार्टीले समीक्षा प्रतिवेदनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने पनि बताएका छन्।