काठमाडौं - उज्यालो नेपाल पार्टी(उनेपा) का अध्यक्ष कुलमान घिसिङले पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने बताएका छन् । 

विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै अध्यक्ष घिसिङले  अहिले अन्य  राजनीतिक दल, बुद्धिजीवी तथा विभिन्न पेशा र व्यवसायमा आबद्ध व्यक्तिहरू उनेपामा समाहित हुने क्रममा रहेको बताए । 

अध्यक्ष घिसिङले भने, ‘उज्यालो नेपाल पार्टी अब साँच्चिकै विकल्पका रूपमा स्थापित हुनेछ । आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टीको सशक्त प्रतिनिधित्व हुनेछ र त्यसपछिको निर्वाचनमा देशको नेतृत्व गर्ने गरी हामी अगाडि बढेका छौँ।’

उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच शुक्रबार औपचारिक रूपमा एकता भएको छ ।  यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको छ ।