काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालमाथि प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएको छ। कांग्रेस सांसद अभिषेक प्रताप शाहले प्रतिनिधिसभा बैठकमै सभामुखको अधिकार प्रयोगमा किन सकस भइरहेको भन्दै प्रश्न उठाएका हुन्।
बैठकमा बोल्दै शाहले सभामुखसँग प्रधानमन्त्रीमाथि रुलिङ गर्ने संवैधानिक अधिकार रहेको उल्लेख गरे। उनले प्रधानमन्त्री, मन्त्री वा सांसदलाई सदनप्रति उत्तरदायी बनाउन सभामुखले आवश्यक कदम चाल्नुपर्ने बताए।
“तपाईंलाई प्रधानमन्त्रीमाथि रुलिङ गर्ने अधिकार छ। त्यो अधिकार प्रयोग गर्न कसले रोकेको छ ?” शाहले प्रश्न गरे, “कार्यपालिकाका प्रमुखलाई सदनप्रति जिम्मेवार बनाउन नसक्ने हो भने सभामुखको भूमिकामाथि नै प्रश्न उठ्छ।”
शाहले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखले स्पष्ट रुलिङ गर्नुपर्ने माग समेत गरे। उनका अनुसार प्रधानमन्त्रीको अनुपस्थितिले संसद्को गरिमा र उत्तरदायित्व प्रणालीमाथि असर परेको छ।


0 comment