काठमाडौं - नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखको पेट्रोलियम उत्खननमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरेकी छन्। सोमबार भक्तपुरमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले  पेट्रोलियम उत्खनन परियोजनामा सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाइन् ।

देशकै आर्थिक कायापलट गर्न सक्ने महत्त्वाकांक्षी परियोजनालाई सरकारले तीव्र गतिमा अघि बढाउनुपर्ने उनको भनाइ थियो। उनले पेट्रोलियम उत्खनन कार्य प्रभावित हुन नदिन सुर्खेत–दैलेख सडकमार्गको स्तरोन्नति हुनु पर्नेमा जोड दिइन्।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको अनुपस्थितिले सरकारको जिम्मेवारीबोध कमजोर देखिएको उनको आरोप थियो। सरकारको नीति तथा कार्यक्रममा रहेका सकारात्मक पक्षलाई समर्थन गर्दै गलत विषयमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको पनि थापाको दाबी थियो।

उनले संविधानविपरीत हुने कुनै पनि गतिविधिविरुद्ध कांग्रेस सशक्त रूपमा उभिने बताइन्।