काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले संसद्मा न्यायाधीशबारे दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

बुधबार कांग्रेस सचेतक निश्कल राईले संविधान विपरीत न्यायाधीशबारे सदनमा टिप्पणी गरिएको बताए । उनले संविधानको धारा १०५ अनुसार अदालतमा विचाराधीन मुद्दा तथा न्यायाधीशले कर्तव्य पालनाका क्रममा गरेका कार्यबारे संसद्मा छलफल गर्न नमिल्ने उल्लेख गरे ।

राईले रास्वपाले संविधान पढेको छ वा छैन भन्दै कटाक्ष समेत गरे । साथै, यस्ता असंवैधानिक विषय उठाउँदा सभामुखले तत्काल रोक्नुपर्ने उनको भनाइ थियो ।राईले सरकारको नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भन्दै प्रधानमन्त्रीलाई रुलिङ गरेर सभामा बोलाउन माग गरे ।  

सचेतक राइले दुईतिहाइको दम्भ देखाउँदै न्यायाधीशमाथि गरिएको टिप्पणी अराजनीतिक मात्र नभई असंवैधानिक समेत भएको भन्दै आपत्ति जनाए । महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख रहेपनि रास्वपा सांसदले सदनलाई लल्कारेर न्यायाधीशको बारेमा टिप्पणी गरेको उनले बताए। 

उनले यस विषयमा सभामुखले समेत ध्यान दिनुपर्नेमा जोड दिए । कांग्रेस सचेतक राइले धारणा राखेपछि रास्वपा दलका नेता पराजुलीले उठेर विरोध जनाएका थिए । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै पराजुलीले सर्वोच्च अदालतका न्यायाधीश व्यापारिक घरानाको कार्यक्रममा सहभागी भएको तथा दुई तिहाइको सरकारलाई चुनौती दिएको भन्दै प्रश्न उठाएका थिए ।