काठमाडौं - सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको पछिल्लो अभिव्यक्तिप्रति प्रतिनिधिसभा बैठकबाटै आपत्ति जनाएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले कानुन दिवसको अवसरमा मल्लले वर्तमान सरकार र रास्वपालक्षित टिप्पणी गरेको भन्दै आलोचना गरे।
पराजुलीले दलगत कोटाबाट न्यायाधीश नियुक्त गर्ने प्रवृत्तिले न्यायालय दूषित बनेको आरोप लगाए। उनले कामु प्रधानन्यायाधीश मल्ल विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुँदा आचारसंहिताको ख्याल नगरेको पनि आरोप लगाए। कानुनले प्रतिबन्धित गरेको विषयलाई ब्यानरमा राखेर आयोजना गरिएको कार्यक्रममा समेत उनी सहभागी भएको पराजुलीको भनाइ थियो।
पराजुलीले न्यायाधीशहरू आचारसंहिताभन्दा बाहिरका कार्यक्रममा सहभागी नहुने विश्वव्यापी अभ्यास रहेको उल्लेख गर्दै मल्लको भूमिकाप्रति असन्तुष्टि जनाए।
साथै उनले व्यापारिक घरानाले आयोजना गरेको कार्यक्रममा समेत मल्ल सहभागी भएको उल्लेख गर्दै सडकबाट दुईतिहाइको सरकारलाई लल्कार्ने अभिव्यक्ति दिनु न्यायपालिकाको गरिमाअनुकूल नभएको टिप्पणी गरे।


0 comment