काठमाडौं - प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री निगरानी प्रणाली, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानुन कार्यान्वयनमा जोड दिएका छन् ।

समितिका सदस्यहरुले सवारीको गति बढी हुँदा स्वचालित रूपमा सचेत गराउने डिजिटल उपकरण जडान गर्न सकिने र सडक सुरक्षालाई आधुनिक प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका हुन् ।

बैठकमा समितिका सभापति आशिष गजुरेलले वार्षिक रुपमा तीन हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएकाले सडक सुरक्षासम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

सांसद बासना थापाले सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताइन् । उनले कर्णाली प्रदेशमा रात्रिकालीन यातायात बन्द गरिएपछि दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै त्यसले जनजीवनमा पारेको प्रभावको समेत मूल्याङ्कन हुनुपर्ने बताइन् ।

सांसद राजेन्द्रकुमार राईले मोबाइल फोन प्रयोग तथा सवारी चलाउँदा सङ्गीत सुन्ने प्रवृत्तिका कारण पनि सडक दुर्घटना बढिरहेको बताए। उनले चालकको अनुशासन र सचेतनामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

सांसद गोपाल शर्माले ग्रामीण क्षेत्रका सडक सुधारका लागि विशेष पहल आवश्यक रहेको बताए । उनले निगरानी प्रविधिमा लगानी गर्न सके सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे । सांसद शर्माले कर्णाली क्षेत्रमा रात्रिकालीन यातायात सञ्चालनका लागि सडक विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।

सांसद आशा झाले सडक निर्माणका काम समयमै सम्पन्न हुनुपर्ने बताए । त्यसैगरी, सांसद राजु पाण्डेले सडक सुरक्षासम्बन्धी कानुन कार्यान्वयनको अवस्थाबारे समग्र मूल्याङ्कन आवश्यक रहेको बताए । उनले जनशक्ति मात्रै बढाउनुभन्दा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पहिरोका कारण सडक सुरक्षामा थप चुनौती देखिएको बताए । उनले सडक किनारमा राखिने विज्ञापन सामग्रीले समेत दुर्घटना बढाउने गरेको उल्लेख गर्दै स्थानीय सडक सञ्जाल व्यवस्थापनमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

विषयविज्ञ भगवती सेढाइले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्ने यात्रुले समेत हेल्मेट प्रयोग गरे दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताइन् । उनले मापदण्डअनुसारका गुणस्तरीय हेल्मेटको प्रयोग सुनिश्चित गर्न पहल आवश्यक रहेको धारणा राखिन् ।

उनले सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीको जनशक्ति वृद्धि गर्नुपर्ने तथा सडक सुरक्षाका लागि छुट्टै ‘सडक सुरक्षा परिषद्’ गठन गर्न आवश्यक रहेको बताइन् ।