काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक सम्बन्धी आरोपमा पक्राउ परेका छन्।

सप्तरीको महादेवा गाउँपालिका–१ स्थायी घर भई हाल राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय मुस्तकिम मिँयालाई प्रहरीले सोमबार पक्राउ गरेको हो। उनीमाथि अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहार गरेको आरोप लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीका अनुसार मिँयाविरुद्ध सप्तरी जिल्ला अदालत, राजविराजबाट ७ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ।

प्रहरीमा दर्ता गरिएको किटानी जाहेरीमा पीडितलाई एकान्त स्थानमा बन्धक बनाई डरत्रास देखाएको, कुटपिट गरेको तथा कपडा खोल्न लगाई नांगो अवस्थामा भिडियो खिचेको आरोप लगाइएको छ।

उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएपछि मुस्तकिम मिँयाको व्यापक आलोचना भएको थियो। मन्त्री यादवले उनलाई २०८२ चैत २७ गते हलुका सवारी चालक पदमा नियुक्त गरेका थिए।