काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाले आफूलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका’का रूपमा औपचारिक घोषणा गरेको छ। नगरपालिकाको सभाहलमा बुधबार आयोजित विशेष कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, प्रमुख जनस्वास्थ्य प्रशासक सागर घिमिरे, जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवालाको उपस्थितिमा उक्त घोषणा गरिएको हो।
नगरप्रमुख कार्कीले पूर्ण खोप सुनिश्चितता घोषणा सम्भव हुनुमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका निर्णायक रहेको बताए। उनले खोप लगाउनुपर्ने बालबालिकाको पहिचान गर्ने, कुनै पनि बालबालिका खोपबाट नछुटून् भन्ने सुनिश्चित गर्ने र समुदायसम्म स्वास्थ्य सेवा पुर्याउने कार्यमा स्वयंसेविकाहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको उल्लेख गरे।
उनले अनुगमन तथा प्राविधिक सहयोग गर्ने अन्य निकायको भूमिका रहे पनि अभियानको मुख्य आधार महिला स्वास्थ्य स्वयंसेविकाहरू नै रहेको भन्दै उनीहरूको योगदानप्रति आभार व्यक्त गरे।
नगरप्रमुख कार्कीले महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम नेपालको स्वास्थ्य क्षेत्रको सफल नमुनाका रूपमा अन्तर्राष्ट्रिय स्तरमै स्थापित भएको उल्लेख गर्दै मातृ तथा शिशु स्वास्थ्य सुधार, बाल मृत्युदर न्यूनीकरण र खोप कार्यक्रमलाई समुदायको तल्लो तहसम्म प्रभावकारी रूपमा विस्तार गर्न यसले महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले सीमित स्रोत–साधनका बीच राज्यलाई ठूलो अतिरिक्त आर्थिक भार नपर्ने गरी यो मोडल प्रभावकारी रूपमा कार्यान्वयन भएको धारणा व्यक्त गरे।
कार्यक्रममा प्रमुख जनस्वास्थ्य प्रशासक सागर घिमिरेले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु उपलब्धि भए पनि यसको दिगोपना कायम राख्नु अझ ठूलो चुनौती रहेको बताए। उनले खोपबाट रोकथाम गर्न सकिने रोगहरू भविष्यमा पुनः देखापरे अहिलेका सबै प्रयासमाथि प्रश्न उठ्न सक्ने भएकाले नियमित अनुगमन, निरन्तर खोप सेवा र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरे।
उनले अस्थायी रूपमा बसोबास गर्ने परिवार, इँटा भट्टा तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकका बालबालिका, सीमान्तकृत तथा जोखिममा रहेका समुदायका कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिन विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रमका अवसरमा नगरपालिकाबाट सेवा निवृत्त भएका कर्मचारीलाई सम्मानसहित बिदाइ गरिएको थियो। नगरप्रमुख कार्की र उपप्रमुख थापाले उनीहरूलाई प्रमाणपत्र प्रदान गर्दै स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे। साथै पूर्ण खोप सुनिश्चितता अभियान र यसको दिगोपनामा योगदान पुर्याउने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा आगामी दिनमा खोप सेवालाई समुदायका प्रत्येक तहसम्म प्रभावकारी रूपमा विस्तार गर्दै गुणस्तरीय सेवा सुनिश्चित गर्न स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सबै सरोकारवालाले समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो।


0 comment