काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ।

बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १० जना प्रदेश सभा सदस्य, राजकुमार शर्मा तथा नेपाली कांग्रेसका ५ जना प्रदेश सभा सदस्यले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार नेपालको संविधानको धारा १८८ को उपधारा (४) र (५) बमोजिम मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गरिएको हो।

यसअघि बुधबार सत्तारुढ नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। मन्त्रीहरूको राजीनामापछि कर्णाली प्रदेश सरकारको राजनीतिक समीकरणमा परिवर्तन आएको भन्दै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको हो। अविश्वासको प्रस्तावमाथि प्रदेश सभाको कार्यव्यवस्था अनुसार आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।