काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित सरकारी कार्यदललाई ससर्त समर्थन रहने जनाएको छ ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफलका क्रममा राप्रपाका नेताहरुले सरकारले संघीयताका केही व्यवस्था परिमार्जन वा बदल्न खोजेको भए आफ्नो पार्टीको सहयोग रहने प्रतिबद्धता जनाएको हो । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको व्यवस्था परिमार्जन गर्न वा बदल्न खोजेको भए सरकारलाई राप्रपाको सहयोग रहने प्रतिबद्धता जनाए । छलफलमा प्रधानमन्त्री शाहले कार्यदल आफैँले संविधान संशोधन गर्ने वा एजेन्डा तय गर्ने नभइ व्यापक बहस मार्फत बहस पत्र तयार पार्नु मात्रै रहेको बताएका थिए ।

त्यस्तै प्रधानमन्त्रीसँगको छलफलमा स्वास्थ्य बिमामा देखिएको समस्या, मलको अभाव र वितरणमा अस्तव्यस्तता, शिक्षा, स्वास्थ्य र विद्युत् जस्ता आधारभूत एवं अत्यावश्यक क्षेत्रमा लगाएको करका विषयमा ध्यानाकर्षण गराइएको अध्यक्ष लिङ्देनले बताए ।

त्यस्तै होल्डिङ सेन्टरहरूमा बसिरहेका सुकुम्बासीहरूको स्वास्थ्य उपचार र अन्य दैनिक समस्याहरू समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको लिङ्देनले जानकारी दिए ।

छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली सहभागी थिए ।