काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज साम्पाङले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा परम्परा र संवैधानिक विधि मिचिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
साम्पाङले वरियताको क्रम उल्लंघन गर्दै चौथो वरियताका व्यक्तिलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै सरकारको आलोचना गरेका छन्। विज्ञप्तिमार्फत उनले भनेका छन्, “संसद छलेर राष्ट्र प्रमुखलाई दबाब दिई संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराउनु गलत थियो। गलत कार्यलाई कदापि सही भन्न सकिन्न।” संसदलाई छल्दै राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गरेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरिएको उनको आरोप छ।
उनले वर्तमान सरकारले विधि र सुशासनको आश्वासन दिए पनि व्यवहारमा त्यसविपरीत काम गरेको आरोप लगाए। सहकारी ठगी प्रकरण तथा भदौ २३–२४ मा भएको ‘जेन्जी आन्दोलन’ लगायतका विषयमा आफ्नो पक्षमा निर्णय गराउन राजनीतिक तथा कानुनी स्वार्थका आधारमा नियुक्तिका लागि सिफारिस गरिएको हुन सक्ने आशंका समेत उनले व्यक्त गरेका छन्।
साम्पाङले आफ्नै पार्टीबाट निर्वाचित उपसभामुखको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन्। नियुक्तिसम्बन्धी बैठकका क्रममा एमसीसी र एसपीपीजस्ता विषय उठाएर दबाब तथा प्रभाव सिर्जना गरिएको दाबी गर्दै उनले वरियताको क्रम मिचिएको निर्णयमा उपसभामुखले हस्ताक्षर गर्नु खेदपूर्ण भएको बताएका छन्।


0 comment