काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको दाबी गर्दै पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले कार्कीसहित पूर्वअर्थ सचिव शंकर प्रसाद अधिकारी, पूर्व पर्यटन सचिवद्वय महेश्वर न्यौपाने र सुरेश आचार्यलाई प्रतिवादी बनाएको छ। त्यसैगरी, तत्कालीन सहसचिवहरू केवल प्रसाद भण्डारी, डण्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम, राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारी, इन्जिनियर योगेश अर्याल र कर्मचारीहरू युगराज पाण्डे तथा उर्मिला भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ ।

चिनियाँ ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङलाई विमानस्थल निर्माणको क्रममा कर छुट दिने गरी गैरकानुनी सम्झौता गरेर राज्यकोषलाई ३ अर्ब ६२ करोड ५ लाख २२ हजार नोक्सानी र्पुयाएको अख्तियारको दाबी छ । आयोगले यसअघि पूर्वमन्त्रीसहित दजनौँलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिसकेको छ।