काठमाडौं - सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने स्पष्ट पारेका छन्।

सोमबार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले त्रिविसँग नयाँ भाडा सम्झौता गरिने बताए । उनले विश्वविद्यालय र खेलमैदान राज्यकै भएको भन्दै नयाँ तवरले सम्झौता गरेर अघि बढ्ने बताए ।त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुनः भाडा सम्झौता हुने उनको भनाइ थियो ।

उनले भने, “राज्यको यत्रो लगानी भएको छ, दुवै राज्यकै निकाय हुन् । भत्किने भन्ने हुँदैन ।” त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गामा रहेका भौतिक संरचना खाली गर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई  पत्र पठाएर ३५ दिनभित्र क्रिकेट मैदान खाली गर्न भनेको थियो ।