काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हालका लागि स्थगित गरेको छ। निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा अन्तिम समयमा आएर प्रक्रिया रोकेको हो। 

सहमतिमा दलको नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो। समितिमा पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल सदस्य थिए।

सभापति गगनकुमार थापा र उपसभापति शर्माबीच उम्मेदवारको विषयमा सहमति जुट्न सकेन। थापाले सांसद मोहन आचार्यलाई अघि सारेका छन् भने शर्माले भीष्मराज आङ्देम्बेलाई समर्थन गरेका छन्। साथै, अर्जुननरसिंह केसीले पनि सहमति नभए निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन्।

नेताहरूबीच सहमति नजुटेपछि आजका लागि तय गरिएको सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित भएको हो। यसअघि दिउँसो ३ बजेबाट उम्मेदवारी दर्ता सुरु गर्ने, चरणबद्ध रूपमा नामावली प्रकाशन, दाबी–विरोध, नाम फिर्ता तथा अन्तिम सूची प्रकाशनपछि साँझ ५ बजे मतदान गर्ने कार्यतालिका तय गरिएको थियो। मतदान कांग्रेस संसदीय दलको कार्यालयमा गर्ने र मतगणना मतदानलगत्तै सुरु गर्ने योजना थियो।