काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन सुरुङले मार्गप्रशस्त गर्न उचित हुने बताएका छन् । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष साम्पाङले गृहमन्त्रीका विषयमा पटक-पटक विवाद उत्पन्न भइरहेको अवस्थामा मार्गप्रशस्त गर्न उचित हुने बताए । उनले सुशासन कायममा सरकारले काम गर्ने कोसिस गरिरहेकाले प्रतिक्रिया दिन हतार नगर्ने समेत बताए ।
अध्यक्ष साम्पाङले सरकारले माग गरे बमोजिम आफ्नो पार्टीले ३३ बुँदे सुझाव पत्र प्रस्तुत गरेको जानकारी दिए । श्रम संस्कृतिले अत्यावश्यक आधारभूत आवश्यकताका मूल्य मान्यता बनाइराख्ने, जनजीवनलाई सामान्य बनाइराख्न आवश्यक भूमिका खेली नेतृत्व लिने, मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिनुपर्ने, असंलग्न परराष्ट्र नीति सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्नुपर्ने लगाएतका सुझाव दिएको छ ।
त्यस्तै कम्तीमा एकपालीका एक उद्योग, एक परिवार, एक रोजगारको नीति लागू गर्ने, हप्ताको ३ दिन किताब र बाँकीको ४ दिन श्रम, सीप र सृजना सिकाएर उत्पादन, निर्माण, सृजना र आविष्कार गर्न सिकाउने सुझाव दिइएको अध्यक्ष साम्पाङले बताए ।
त्यस्तै श्रम संस्कृतिले सवैखाले विभेदको अन्त्य गरि नागरीकलाई सुशासन महसुश गराउने, व्यवस्था परिवर्तन तथा राजनीतिक आन्दोलनहरुका सहिद, वेपत्ता, घाइतेहरुको वास्तविक अभिलेख राखी राज्ले विशेष सेवा सुविधा प्रदान गर्नुपर्ने, लोकतन्त्रलाई बलिया बनाउन मर्यादीत र स्वतन्त्र पत्रकारिता र नागरिकको अभिव्यक्ति स्वतन्त्रको ग्यारेन्टी गर्ने लगाएतका सुझाव दिएको छ ।



0 comment