काठमाडौं- जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै अभियन्ता रक्षा बमले प्रधानमन्त्रीलाई खुला अपिल गरेकी छन्। उनले आन्दोलनका क्रममा उठेका प्रश्नहरूको उत्तर खोज्न र पीडितहरूको आवाज सम्बोधन गर्न प्रतिवेदन सार्वजनिक गर्नु अपरिहार्य भएको बताएकी छन्।
बमले आफ्नो अपिलमा विगतको राजनीतिक संक्रमणकालीन अवस्थालाई स्मरण गर्दै प्रधानमन्त्रीको नेतृत्वमा देशले स्थायित्व र शान्तिपूर्ण निर्वाचनको अनुभव गरेको उल्लेख गरेकी छन्। तर पछिल्लो समय सडक र सामाजिक सञ्जालमा आन्दोलनसँग सम्बन्धित विभिन्न आरोप र प्रश्नहरू उठिरहेकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरिन्।
उनका अनुसार आन्दोलनमा सहभागी व्यक्तिहरूले दुर्व्यवहार र आरोपहरूको सामना गरिरहेका छन्, जसले उनीहरूको व्यक्तिगत र सामाजिक जीवनमा नकारात्मक प्रभाव पारेको छ। “हामीमाथि लागेका आरोपहरूबारे सत्य तथ्य सार्वजनिक हुन जरुरी छ,” उनले भनिन्।
बमले आन्दोलन हिंसात्मक बन्न पुगेको कारण, गोली चलाउने आदेश दिने व्यक्ति, तथा सिंहदरबारमा आगजनी कसले गर्यो भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताइन्। उनले आफू लगायत आन्दोलनमा संलग्न व्यक्तिहरूमाथि लागेका आरोपको सत्यता बुझ्न पनि प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरिन्।
“अब प्रश्नहरूको जवाफ केवल व्यक्तिगत रूपमा दिन पर्याप्त छैन, राज्यले नै आधिकारिक रूपमा सत्य सार्वजनिक गर्नुपर्छ,” उनले जोड दिइन्।
उनले अन्त्यमा न्यायको प्रतीक्षामा रहेका नागरिकहरूको अपेक्षा पूरा गर्ने जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै इतिहासले वर्तमान निर्णयलाई कसरी मूल्यांकन गर्ने भन्ने कुरा नेतृत्वकै हातमा रहेको बताइन्।


0 comment