काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने भएको छ ।
नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएपछि आज असोज ६ गतेदेखि नेप्सेमा पूर्ववत् रूपमा कारोबार सञ्चालन गरिने भएको हो ।
नेप्सेले डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो । समस्या समाधान नभएको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि कारोबार रोकिएको थियो ।
नेपाल धितोपत्र बोर्डले समेत कारोबार स्थगनको विषयमा अध्ययन तथा जाँचबुझ गर्न नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिँदै उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ ।
डाटा सेन्टरको प्राविधिक समस्या समाधान भएसँगै आजदेखि कारोबार पुनः सञ्चालन हुने भए पनि घटनाको प्राविधिक कारण तथा प्रणालीगत जोखिम भने पहिचान हुन सकेको छैन ।


0 comment