काठमाडौं - काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ। कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा गएराति उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

सोमबार दिउँसो त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागि हुनु अगाडि आफूले गल्ती नगरेपनि कारबाही गर्न खोजिएको भन्दै ट्राफिक प्रहरीसँग विवाद भएको भिडियो सार्वजनिक भएको थियो।

अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो। प्रहरीले सुरुमा दावा लामा भनेपनि चालकको परिचय खुल्न बाँकी रहेको जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालक आफैंले बसमा आगो लगाएको निष्कर्ष छ। घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरीले छुट्टाछुट्टै छानबिन समेत अघि बढाएको छ।