काठमाडौं । डडेलधुरा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका लक्ष्मी दत्त भट्टले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको आय–व्यय विवरण सार्वजनिक गरेका छन्।
भट्टले सार्वजनिक गरेको विवरणअनुसार निर्वाचन प्रक्रियामा कुल रु. २९ हजार ६८० खर्च भएको उल्लेख गरिएको छ। खर्च विवरणमा मनोनयन दर्ता शुल्कदेखि प्रचार–प्रसार तथा पत्रकार सम्मेलनसम्मका विभिन्न शीर्षकमा खर्च गरिएको जनाइएको छ।
उपलब्ध विवरणअनुसार
मनोनयन दर्ता शुल्क – रु. १०,०००
खाना, खाजा तथा भाडा खर्च – रु. ५,०००
मनोनयन कागजात कुरियर खर्च – रु. २५०
पत्रकार सम्मेलन ब्यानर निर्माण – रु. ४१०
पत्रकार सम्मेलन खर्च – रु. १०,०१०
विज्ञापन तथा प्रचार–प्रसार खर्च – रु. ४,०१०
यसरी कुल रु. २९,६८० खर्च भएको भट्टले जानकारी दिएका छन्।
खर्चको स्रोतबारे जानकारी दिँदै भट्टले मनोनयन दर्ता गर्दा राखिएको रु. १० हजार धरौटी रकम तथा पार्टी कोषबाट रु. ५ हजार गरी रु. १५ हजार खर्च गरिएको बताए। यस्तै, कागजात कुरियर खर्च रु. २५० उनले व्यक्तिगत रूपमा व्यहोरेको उल्लेख गरेका छन्।
भट्टका अनुसार अन्य चुनावी खर्च निर्वाचन आयोगको निर्देशनअनुसार खोलिएको छुट्टै बैंक खातामार्फत गरिएको हो। उक्त खातामा विभिन्न व्यक्तिहरूबाट सहयोग स्वरूप रकम जम्मा भएको उनले बताएका छन्। जसमा उद्यमी कृषक सूर्यज्यू, उद्यमी व्यवसायी ललित प्रसाद, उद्यमी खडक प्रसाद, समाजसेवी चेतराज भट्ट लगायतबाट सहयोग प्राप्त भएको र परिवारका तर्फबाट जीवनसंगिनीले रु. १५ हजार सहयोग गरेको उल्लेख गरिएको छ।
भट्टका अनुसार उक्त खातामा जम्मा भएको रु. १७ हजार ५७० मध्ये रु. १४ हजार ४३० खर्च गरिएको र रु. ३ हजार १४० बचत रहेको छ। बाँकी रकम बैंक खाता बन्द गर्ने प्रक्रिया पूरा गरी जय मातृभूमि पार्टीको खातामा जम्मा गरिने तयारी भइरहेको उनले जानकारी दिएका छन्।
स्वास्थ्य समस्याका कारण आफू निर्वाचन क्षेत्रमा पुग्न नसकेको उल्लेख गर्दै भट्टले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले चुनावी प्रक्रियामा कसैसँग अनावश्यक आर्थिक सहयोग नलिएको र मतदातामाथि दबाब नदिएको पनि स्पष्ट पारे।
साथै उनले निर्वाचन खर्चमा पारदर्शिता आवश्यक रहेको बताउँदै सबै उम्मेदवारहरूले आर्थिक स्रोत र खर्च खुला रूपमा सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्। भट्टले सुसंस्कृत राजनीतिक अभ्यासका लागि पारदर्शिता र जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्दै निर्वाचनलाई लोकतान्त्रिक संस्कार सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।
अन्त्यमा उनले परिवर्तन र रूपान्तरणका लागि राजनीति पारदर्शी र जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याउँदै आफ्नो अभियान जारी रहने बताएका छन्।



0 comment