पछिल्लो समय काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ ।

पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालेको हो ।

प्रदूषणका कारण उपत्यकाको आकाश धमिलो छ भने घाम राम्रोसँग लाग्न सकेको छैन ।

बिहानैदेखि काठमाडौंको मौसम धमिलो छ । दृश्य क्षमता घटेका कारण यातायात सञ्चालन र हवाई उडानमा समेत सामान्य प्रभाव परेको छ । हावामा धुलोका कण र धुवाँको मात्रा बढेकाले सर्वसाधारणले आँखा पोलेको र श्वासप्रश्वासमा असहज महशुस गरेका छन् ।

वातावरण विभागकाअनुसार उपत्यकाको वायु गुणस्तर सूचकांक जोखिमपूर्ण स्तरमा पुगेको छ । लामो समयदेखि हिउँदे वर्षा नभएको र देशका विभिन्न भागमा लागेको डढेलोको धुवाँ हावाको माध्यमबाट उपत्यकामा भित्रिएका कारण प्रदूषण ह्वात्तै बढेको मौसमविद्हरूले बताएका छन् ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरूलाई घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य रूपमा गुणस्तरीय मास्कको प्रयोग गर्न स्वास्थ्य विज्ञहरूको सुझाव छ ।

तत्काल ठूलो वर्षा हुने वा तीव्र हावा चल्ने सम्भावना कम रहेकाले आगामी केही दिनसम्म प्रदूषणको यो अवस्था कायमै रहन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित निकायले अनावश्यक रूपमा सवारी साधन नचलाउन र फोहोर नजलाउन सर्वसाधारणलाई अपिल गरेको छ ।

काठमाडौँ विश्वको चौथो प्रदूषित सहरका रूपमा सूचीकृत भएको वातावरणविद् भूषण तुलाधारले जानकारी दिनुभयो । प्रदूषण नियन्त्रणका लागि समयमा पूर्वतयारी आवश्यक पर्ने बताउँदै उनले घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धुँवा परीक्षण, मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके प्रदूषण नियन्त्रणमा मद्दत पुग्ने धारणा राखे।

एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ ।

त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने भएकाले सचेतना अपनाउन विभागका महानिर्देशक सुवेदीले आग्रह गरे । उनका अनुसार १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।