जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट  रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा (एमाले) मा समाहित भएको घोषणा पनि गरेका हुन् । यादव जसपा नेपालका केन्द्रीय सदस्य समेत हुन् ।

वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वाससहित एमालेलाई रोजेको उनले सोमबार विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

‘आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।

यादवले आफ्ना समर्थक र  मतदातालाई एमालेको चुनाव चिन्हमा मतदान गर्न आह्वान गरेका छन् । रुपन्देही–३ मा एमालेबाट बासुदेव घिमिरे उम्मेदवार छन् ।