काठमाडौं - लामखुट्टेको टोकाइबाट डेंगुका बिरामी बढ्न थालेँसगै डडेल्धुरामा डेंगु नियन्त्रणका लागि 'लार्भा खोज र नष्ट गर' अभियान सुरु गरिएको छ। 

स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा मंगलबारदेखि लामुखुट्टेको 'लार्भा खोज र नष्ट गर' अभियान चलाइएको जिल्ला स्वास्थ्य कार्यालयका डडेल्धुराका प्रमुख केशरबहादुर साउदले जानकारी दिए।

डेंगु नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सर्वसाधारणलाई समेत सुझाव दिइएको छ। विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्यांकी आदिमा लामखुट्टे फूल पार्नेगरेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख साउदले बताए। 

सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको अमरगढी नगरपालिका आसपासका क्षेत्रमा सरसफाईका साथै पानी जम्ने ठाउँमा लार्भा नष्ट गर्ने अभियान थालिएको उनले बताए। 

विशेषगरी साँझ बिहानको समयमा सक्रिय हुने 'एडिज एजिप्टी र एडिस एल्बोपिक्टस' प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गरेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जनाए।

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन्। जटिल प्रकृतिको डेंगुको संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताए। 

डडेल्धुरामा अहिले ३० डेंगु संक्रमित उपचार गरिरहेका छन् जसमध्ये १६ जना अमरगढी नगरपालिकाका छन्।

डेंगुले महामारीको डर लाग्दो अवस्था निम्त्याउन सक्छ : विज्ञ

डेंगु महामारीकै रुपमा फैलिँदा समेत सरकार संवेदनशील नभएको विज्ञहरुले औंल्याएका छन् । उनीहरुले डेंगु जोखिम बढ्दै गएको र यसले महामारीको डरलाग्दो अवस्था निम्त्याउन सक्ने बताएका हुन् ।

अद्यावधिक विवरण अनुसार देशभर फैलिएको डेंगुका कारण हालसम्म ३६ जनाको ज्यान गइसकेको छ । हालसम्म देशभर २७ हजार बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डेंगु संक्रमित संख्या दैनिक बढ्दै गएपनि सरकार रोकथाम र नियन्त्रणमा ठोस योजना बनाउन चुकेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन् ।

स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले सरकारको प्राथमिकतामा डेंगु नपरेको बताए । उनले भने,' जाडो आएपछि डेंगु जान्छ, टाउको हलुंगो हुन्छ भन्ने नसोचौं । ’

डा. मरासीनीले डेंगु रोकथामका लागि ‘लङ्ग टर्म प्रोग्राम’गर्नुपर्ने बताए । उनले भने, ‘बग्ने पानीमा लामखुट्टेले फूल पार्दैन । जमेको पानीमा फूल पार्छ । लामखुट्टे अत्यन्त चलाख प्राणी हो । ’ उनले यो अवस्थामा स्वास्थ्य मन्त्रालयको पहिलो एजेण्डा डेंगु नियन्त्रण हुनुपर्ने भएपनि त्यसो नभएकोमा चिन्ता व्यक्त गरे ।

डा. मरासीनीले भने, ‘सरकार डेंगु रोकथाममा सक्रिय रुपमा लाग्नुपर्नेमा आफ्ना कर्मचारीलाई मात्रै पूरा बाहुला भएका कपडा लगाउन परिपत्र गर्छ । सरकारले डेंगुलाई गम्भिरतापूर्वक लिनुपर्छ । डेंगु रोकथामको उपाय भनेकै लामखुट्टे र नियन्त्रण र लार्भा नष्ट हो । ’

स्वास्थ्य सेवा विभाग इडीसीडीकै पूर्व निर्देशक डा. गरिवदास ठाकुर डेंगु नियन्त्रणमा सरकार संवेदनशिल हुनुपर्ने बताए । उनले डेंगु संक्रमितको संख्या बढेपनि मन्त्रालयले ठोस योजना बनाउन तल्लिन नभएको बताए ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले डेंगु नियन्त्रणका लागि घर, समुदाय, कार्यस्थलमा लार्भा खोजी र नष्ट गर्नुपर्ने बताए ।

उनले भने, ‘जलवायु परिवर्तन, अव्यवस्थित शहरीकरण, जनसंख्या वृद्धि र प्लाष्टिकजन्य तथा अन्य फोहोरहरुको उचित व्यवस्थापन हुन नसक्दा डेंगु लगायतका किटाणुजन्य रोगहरुको वृद्धि भएको छ । डेंगु नियन्त्रणका लागि कुनै पनि स्थानमा पानी जम्न दिनुहुँदैन ।’ 

नेपालमा पहिलोपटक २०६१ सालमा डेंगु देखिएको थियो । डेंगु भाइरस 'एडिस’जातको लामखुट्टेले सार्ने गर्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । वर्षात् सुरु भएपछि यो लामखुट्टे अत्यधिक सक्रिय बन्ने चिकित्सकहरुको भनाइ छ ।

लामखुट्टेले टोकेको एक साताभित्र यो रोगका लक्षण देखापर्ने चिकित्सक बताउँछन्। डेंगुलाई डेंगु ज्वरो, डेंगु हेमोरेजिक ज्वरो र डेंगु सक सिन्ड्रोम गरी तीन भागमा बाँड्न सकिन्छ ।

डेंगु हेमोरेजिक ज्वरो अलि कडा हुन्छ । डेंगु सक सिन्ड्रोम भएको व्यक्तिलाई हेमोरेजिक ज्वरोका साथै बेहोस हुने लक्षण देखिन्छ । डेंगु फैलाउने लामखुट्टेको आफ्नै विशेषता छ । सफा र स्थिर पानीमा वासस्थान हुन्छ। अन्य लामखुट्टे फोहोरमा बसे पनि एडेस एजेप्टी र एडेस एल्बोपिक्टस सवारी साधनका पांग्रा, गमला, एयर कन्डिसनर, कुलरमा जम्मा भएको पानीमा बस्ने गर्छ ।  

डेंगु संक्रमण भएको ४ देखि १० दिनसम्म लक्षणहरू देखा पर्ने गर्छ । उच्च ज्वरो आउनु, आँखाको गेडी खस्लाजस्तो हुनु, वाकवाकी लाग्ने तथा बान्ता हुनु, पखाला वा पातलो दिसा हुनु, खानामा अरुचि देखिनु यसका प्रमुख लक्षण हुन् ।