काठमाडौं - मक्काबाट मदीना जाँदै गरेको बस सोमबार इन्धन बोकेको डीजल ट्यांकरसँग ठोकिँदा ४२ भारतीय नागरिकको मृत्यु भएको छ। साउदी अरबमा सोमबार राति भएको उक्त दुर्घटनामा ४२ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको छ।

मृतकमध्ये २० महिला र ११ बालबालिका रहेको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार दुर्घटनाबाट बस चालक मात्र जीवित जोगिन सफल भएको छ।

मृतकमध्ये अधिकांश  हैदराबादका भएको अनुमान गरिएको छ। दुर्घटना मदीनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिक भारतीय समय अनुसार राति १:३० बजे भएको थियो। त्यो समयमा धेरै यात्रुहरू मस्त निन्द्रामा थिए । जसका कारण उनीहरुलाई भाग्ने कुनै मौका नै मिलेन ।

यस घटनापछि तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। राज्य सरकारद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित अधिकारीहरूलाई दूतावाससँग समन्वय गर्दै पीडितहरूको पहिचान तथा आवश्यक सबै औपचारिकतामा सहयोग गर्न निर्देशन दिएको उल्लेख छ।