काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनले जनताको गहिरो असन्तुष्टि र असमानता देखाएको बताएका छन्। उनले कांग्रेसले यसको सन्देश नबुझ्ने हो भने जनतासँगको दूरी अझ बढ्ने चेतावनी दिएका छन्।
सानेपास्थित पार्टी कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले भने,‘जेन–जी आन्दोलन कुनै आकस्मिक घटना होइन। यो दशकौँदेखि बढ्दै आएको असन्तुष्टि र असमानताको परिणाम हो। यसको मर्म नबुझ्ने हो भने हाम्रो अस्तित्व नै प्रश्नमा पर्छ।’
उनका अनुसार जनताले दलहरूलाई होइन, पुरानो राजनीतिक प्रवृत्तिलाई अस्वीकार गरेका हुन्। ‘अब हामीले नयाँ सोच, नयाँ व्यवहार र नयाँ नेतृत्व संस्कारका साथ अघि बढ्नुपर्छ,’ उनले जोड दिए।
शर्माले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारलाई कांग्रेसले जिम्मेवार र रचनात्मक सहयोग गर्नुपर्ने बताए।उनले विपक्षको भूमिका केवल आलोचना गर्ने नभई सुधार र स्थायित्वतर्फ लैजाने हुनुपर्ने उल्लेख गरे।
शर्माले आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई जनताको पुनःनिर्णयको अवसरको रूपमा लिनुपर्ने बताए।उनले पार्टी नेतृत्वलाई उम्मेदवार छनोटमा पारदर्शिता अपनाउन, जनमुखी एजेन्डा अघि सार्न र व्यवहारिक प्रतिबद्धता देखाउन आग्रह गरे।
शर्माले जेन–जी आन्दोलनलाई प्रणाली परिवर्तनको चेतावनीका रूपमा व्याख्या गर्दै कांग्रेसले यसलाई सुधारको अवसरका रूपमा लिनुपर्ने बताए।




0 comment