काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँग सहमति पत्रमा बुधबार हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई हावादारी बताउँदै यस्तो दाबी गरेका हुन्।

‘१२ वटा समूहहरू एक ठाउँमा आइसक्यौं,’ प्रचण्डले भने, ‘केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्।’उनका अनुसार हालसम्म १२ वटा राजनीतिक दल र समूहहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेका छन्।

गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दल र समूहहरूले एकीकरण गर्दै नयाँ ‘नेपाली कम्युनिष्ट पार्टी’ घोषणा गरेका थिए।