काठमाडौं - नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ।

विभिन्न १० वाम दल र समूहबीच बुधबार एकता घोषणा भएपछि उनीहरुले आयोगमा निवेदन दिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार निवेदन हाल अध्ययन र छलफल प्रक्रियामा रहेको छ।

नेपाली कम्युनिस्ट पार्टीका नेता लिलामणि पोखरेलले यसअघि दर्ता भएका माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा समाजवादी र जनसमाजवादी पार्टी खारेज गरी नयाँ दलका रूपमा दर्ता प्रक्रिया अघि बढाइएको जानकारी दिए।

नयाँ पार्टी गठनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका १० दल सहभागी छन्। पार्टीको चुनाव चिन्ह पाँचकुने तारा प्रस्ताव गरिएको छ। बुधबार १० घटकबीच एकता घोषणा गर्दै नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ।