काठमाडौं - जमैकामा विश्वकै यो वर्षको सबैभन्दा शक्तिशाली आँधी आउने चेतावनि दिईएको छ ।
आँधी “विनाशकारी र ज्यानमारा” अवस्थाको हुने अमेरिकी मौसमविद्हरूले चेतावनी दिएका छन् । १७५ माइल प्रति घण्टा अर्थात २८२ किलोमिटर प्रति घण्टा वेगका हावा सहितको हरिकेन मेलिसा श्रेणी पाँचको आँधी हो । यो सम्भव उच्चतम स्तर हो। यो अझै तीव्र हुँदै गएको छ र मंगलबार बिहानै क्यारिबियन टापु जमैकामा स्थलगत हुने अनुमान गरिएको छ।
यसअघि हाइटी र डोमिनिकन गणराज्यमा चार जनाको मृत्यु गराइसकेको यो आँधीले अहिले जमैकामा थप ज्यान लिएको बताइएको छ। जमैकामा ३ जनाको मृत्यु भएको छ ।
विशेषज्ञहरूका अनुसार मेलिसाको गति अत्यन्तै ढिलो भएकाले केही क्षेत्रमा लगातार भारी वर्षा हुने र त्यसले घातक बाढी तथा पहिरोको जोखिम बढाउने सम्भावना छ।
अमेरिका आधारित नेशनल हरिकेन सेन्टरका पछिल्ला तथ्यांक अनुसार अधिकतम हावा वेग र न्यूनतम केन्द्रिय वायुदाबका हिसाबले मेलिसा यस वर्षको विश्वकै सबैभन्दा शक्तिशाली आँधी हो। हालको शक्तिका हिसाबले यो १८५१ पछि जमैकामा आएको सबैभन्दा शक्तिशाली हरिकेन हुने बताइएको छ।
जमैकामा पहिल्यै उष्णकटिबंधीय आँधीको अवस्था देखिएको छ र विनाशकारी तथा ज्यानमारा हावा मंगलबार बिहानदेखि सुरु हुने चेतावनी सोमबार राति ११ बजे एनएचसीले सार्वजनिक गरेको विज्ञप्तिमा दिइएको छ। सोमबार साँझसम्मै जमैकामा “आँधीसँग सम्बन्धित” तीन जनाको मृत्यु भइसकेको जमैकाको स्वास्थ्य तथा कल्याण मन्त्रालयले एक्समा पुष्टि गरेको छ।
एनएचसीका अनुसार मेलिसा अहिले जमैकाको राजधानी किङ्सटनबाट करिब १४० माइल (२४० किमी) दक्षिण-पश्चिममा छ जसमा १७५ माइल प्रति घण्टा (२८० किमी/घण्टा) का स्थायी हावा चलिरहेका छन्। यो हाल उत्तर–उत्तरपूर्व दिशामा २ माइल प्रति घण्टा (४ किमी/घण्टा) गतिमा अघि बढ्दैछ।
संस्थाले चेतावनी दिएको छ कि आँधीको आँखाको वरिपरिको भाग जसलाई “आइवाल” भनिन्छ त्यसमा “पूर्ण संरचनात्मक विनाशको सम्भावना” छ। जमैकाका “उच्च भूभागहरूमा विशेष सतर्कता” अपनाउन भनिएको छ जहाँ हावाको गति सामान्यभन्दा ३० प्रतिशत भन्दा बढी हुन सक्छ। एनएचसीका निर्देशक माइकल ब्रेन्ननले भने, "बाहिर ननिस्कनुहोस्, मंगलबारसम्म घातक फ्ल्यास बाढी र धेरै ठाउँमा पहिरो आउने अनुमान छ।"
उनले थपे, “आँधीको आँखाको भाग पार हुँदा बाहिर नजानुहोस्। मेलिसाको गति चाँडो बढ्दै जानेछ र यसको आँखा द्वीपमा छिट्टै पार हुँदै जानेछ। एनएचसीका अनुसार जमैकामा चार दिनभित्र केही ठाउँमा ४० इन्च (१ मिटर) सम्म वर्षा हुन सक्छ।“यो अत्यधिक वर्षाको सम्भावना हो ।
जमैकाको सरकारले राजधानी किङ्सटनका केही क्षेत्रमा अनिवार्य उद्धार र खाली गराउने आदेश जारी गरेको छ।




0 comment