काठमाडौं - गायिका नितु पौडेलको मृत्यु प्रकरणमा उनका परिवारले गायक बाबुल गिरीविरुद्ध जाहेरी दर्ता गरेका छन्। नितुका दाइ गणेश पौडेलले कर्तव्य ज्यानको आरोपमा सिंहदरबार प्रहरी वृत्तमा गिरीविरुद्ध जाहेरी दिएका हुन्।

गणेश पौडेलले आफ्नी बहिनीको मृत्यु ‘सामान्य आत्मदाह होइन, योजनाबद्ध हत्या’ भएको दाबी गरेका छन्। ‘म जाहेरी लिएर प्रहरी कार्यालय पुगेको छु। अब जाहेरी दर्ता गरेर गायक गिरीमाथि अनुसन्धान अघि बढाउनुपर्छ,’ गणेशले बताएका छन्।

उनका अनुसार नितु र बाबुलबीच पछिल्ला ८–९ वर्षदेखि प्रेम सम्बन्ध थियो। गणेशले बहिनीलाई दुई जनामात्र रहेको कोठाभित्र जलाइएको आरोप लगाएका छन्। सो घटनापछि प्रहरीले गायक गिरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

गायिका नितु पौडेलको एक साताको उपचारपछि आज ( शुक्रबार) बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बिहान साढे ८ बजे मृत्यु भएको थियो।

गत १ कात्तिकमा नितुले गायक बाबुल गिरीको स्टुडियोमा पेट्रोल छर्की आत्मदाहको प्रयास गरेको बताइएको छ। आगो निभाउने क्रममा गिरी स्वयं पनि सामान्य रूपमा घाइते भएको बताएका छन्।