काठमाडौं - लोकप्रिय टेलिश्रृंखला ‘मेरी बास्सै’मा अप्सरा आमाको भूमिका निभाएकी कलाकार लक्ष्मी श्रेष्ठको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। क्यान्सरपीडित श्रेष्ठको शुक्रबार राति निधन भएको थियो।

उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान गरिएको थियो।

श्रेष्ठलाई दशैँपछि स्वास्थ्य समस्या देखिएपछि चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर पठाएपछि उनी काठमाडौँको बालुवाखानीस्थित घरमै थलिएकी थिइन्।

उनको अन्त्येष्टिमा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसी, कलाकार रामचन्द्र अधिकारी, दीपकराज गिरी, गायिका राधिका हमाललगायतको उपस्थिति थियो।

लक्ष्मीले ‘मेरी बास्सै’मा खड्काजीको श्रीमती अप्सरा आमाको छुच्चो भूमिकामा अभिनय गरेर दर्शकको मन जितेकी थिइन्। उनी ‘जिरे खुर्सानी’, ‘कान्छी’ लगायत थुप्रै टेलिश्रृंखला, फिल्म र म्युजिक भिडियोमा पनि देखिएकी थिइन्।