काठमाडौं - मेडागास्करका  राष्ट्रपति एन्ड्री राजोएलिनाले आफ्नो ज्यानमाथि हत्या प्रयास भएको दाबी गर्दै आफू सुरक्षित स्थानमा आश्रय लिएको बताएका छन्।

गत केही हप्तादेखि उनलाई पदत्याग गर्न माग गर्दै भइरहेको आन्दोलनबीच उनले फेसबुकमार्फत् राष्ट्रलाई सम्बोधन गर्दै भने “केही सैनिक र राजनीतिज्ञहरूको समूहले मलाई हत्या गर्ने योजना बनाएको थियो।”

५१ वर्षका राजोएलिनाले आफ्नो ठेगाना खुलाएका छैनन् तर केही अपुष्ट समाचारअनुसार उनी फ्रान्सेली सैनिक विमानमार्फत देशबाट भागेका छन्। यो घटनाअघि लगातार दुई हप्तासम्म देशभर युवाहरूको नेतृत्वमा भएको प्रदर्शनमा उनीविरुद्ध जनआन्दोलन तीव्र भएको थियो।

“जेन जेड माडा” भनेर चिनिएका ती युवा प्रदर्शनकारीहरूलाई शान्त पार्ने प्रयास असफल भएपछि राजोएलिनाले आफ्नो सम्पूर्ण मन्त्रिपरिषद् बर्खास्त गरेका थिए तर त्यसले पनि आन्दोलन रोक्न सकेन।

बुधबारदेखि उनी सार्वजनिक रूपमा देखिएका छैनन् र शनिबार राष्ट्रपति कार्यालयले उनलाई सत्ताच्युत गर्न प्रयास भइरहेको जनाएको थियो।

सोमबार सैनिकहरूले राज्य सञ्चार केन्द्र नियन्त्रणमा लिन धम्की दिएपछि उनको राष्ट्र सम्बोधन पटक–पटक स्थगित गरिएको थियो। अन्ततः फेसबुकमार्फत प्रसारण गरिएको सम्बोधनमा उनले भने, “२५ सेप्टेम्बरदेखि मेरो ज्यानमाथि हत्या प्रयास र कूको प्रयास भइरहेको छ। केही सैनिक र राजनीतिज्ञहरूले मलाई मार्ने योजना बनाएका थिए। म आफ्नो जीवन रक्षा गर्न सुरक्षित स्थानमा जान बाध्य भएँ।”

उनले थपे “यी सबै समस्याको समाधान गर्ने एक मात्र बाटो भनेको देशको प्रचलित संविधानको सम्मान गर्नु हो।”

युवाहरूको नेतृत्वमा देशव्यापी प्रदर्शन

सोमबार एन्टानानारिभोको सिटी हल अगाडि हजारौं नागरिक र प्रदर्शनकारीहरू भेला भई “नागरिक समाज र्‍याली” गरेका थिए।

सप्ताहन्तमा २००९ मा राजोएलिनालाई सत्तामा ल्याउन सहयोग गर्ने शक्तिशाली सैनिक इकाई क्यापस्याटले आफू नै सम्पूर्ण सेनाको नियन्त्रणमा रहेको घोषणा गर्दै राष्ट्रपति विरुद्ध कदम चाल्यो। केही अफिसरहरू आन्दोलनकारीहरूसँगै सडकमा निस्किए।

सोमबार सेनाका कमाण्डरहरूको बैठकपछि क्यापस्याटद्वारा नियुक्त नयाँ सेनाप्रमुख जनरल डेमोस्थेने पिकुलासले जनतालाई “देशमा शान्ति र सुरक्षा कायम गर्न सेना एक जुट भएर काम गरिरहेको” आश्वासन दिए।

राष्ट्रपति कार्यालयका अनुसार सोमबार साँझ जनरल पिकुलास राज्य सञ्चार केन्द्रमा पुगेर संकट समाधानको प्रयास गर्दै थिए।

देश अहिले प्रभावकारी रूपमा सेनाको नियन्त्रणमा पुगेको छ। टीम  पार्टीले राजोएलिनामाथि “पदत्याग र जिम्मेवारी परित्याग” को आरोप लगाउँदै महाभियोग प्रक्रिया अघि बढाउने घोषणा पनि गरेको छ।

राजोएलिनाको आन्तरिक सर्कलका केही सदस्यहरू जसमध्ये पूर्व प्रधानमन्त्री र व्यवसायी ममिनियाना रावतामाङ्गा पनि रहेका छन्। उनीहरु नजिकैको देश माउरिसस भागेका छन्।

आर्थिक संकट र जनआन्दोलनको कारण

प्राकृतिक स्रोतले धनी भए पनि मेडागास्कर संसारका सबैभन्दा गरिब देशमध्ये एक हो। विश्व बैंकका अनुसार यहाँ करिब ७५ प्रतिशत जनता गरिबी रेखामुनि बस्छन् र अन्तर्राष्ट्रिय मुद्रा कोषका तथ्यांकअनुसार करिब एक तिहाइ नागरिकले मात्रै बिजुलीको पहुँच पाएका छन्।

प्रदर्शनको सुरुवात निरन्तर हुने पानी र बिजुली काट्ने समस्या प्रति आक्रोशबाट भएको थियो तर पछि बेरोजगारी, भ्रष्टाचार र मूल्य वृद्धि संकटको विरोधमा व्यापक आन्दोलनमा परिणत भयो।

संयुक्त राष्ट्रसंघका अनुसार पहिलो केही दिनमै कम्तीमा २२ जना मारिए र सयभन्दा बढी घाइते भए । यद्यपि सरकारले यी तथ्यांक अस्वीकार गरेको छ।

प्रत्यक्षदर्शीहरूले सुरक्षा निकायहरूले प्रदर्शनकारी माथि गोली चलाएको बताएका छन्। एक घटनामा अश्रु ग्याँसको असरले एक नवजात शिशुको ज्यान गएको पनि रिपोर्ट छ।

राजनीतिक पृष्ठभूमि

१९६० मा स्वतन्त्रता प्राप्त गरेदेखि मेडागास्करले पटक–पटक जनआन्दोलन र सत्तापरिवर्तनको सामना गरेको छ । २००९ को जनआन्दोलनपछि तत्कालीन राष्ट्रपति मार्क रावलोमनानालाई राजीनामा दिन बाध्य पारियो र राजोएलिना सत्तामा पुगे।

त्यो बेला केवल ३४ वर्षका उनी अफ्रिकाका सबैभन्दा युवा नेता बने। उनले चार वर्ष शासन गरे र २०१८ को निर्वाचनपछि पुनः सत्तामा फर्किए।

राजोएलिना धनी परिवारमा जन्मेका थिए र राजनीतिमा प्रवेश गर्नु अघि उद्यमी तथा डीजेको रूपमा परिचित थिए । उनले रेडियो स्टेशन र विज्ञापन कम्पनी स्थापना गरेका थिए।

तर समयसँगै उनको चम्किलो छवि घट्दै गयो र भ्रष्टाचार तथा नातावादका आरोपले उनको लोकप्रियता घट्दै गयो।