काठमाडौं - नेपालमा डेंगु संक्रमण तीव्र रूपमा बढ्दो छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातामा ४१३ जना नयाँ संक्रमित थपिएसँगै, सन् २०२५ को सुरुबाट हालसम्म कुल ५,८७४ जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा ४ जनाको मृत्यु भइसकेको छ।
देशभर ७५ जिल्लामा डेंगु फैलिएको छ। पछिल्लो सातामा गण्डकी प्रदेशमा सबैभन्दा बढी १५१ जना संक्रमित भेटिएका छन् भने बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेशमा ६ जना संक्रमित थपिएका छन्।
डेंगु एडिस जातिका लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। २००४ मा पहिलोपटक चितवनमा देखिएको यो रोग हाल वर्षभरि नै जोखिमयुक्त बन्दै गएको छ। सन् २०२२ मा ८८ जनाको मृत्यु र ५४ हजारभन्दा बढी संक्रमित भएका थिए।
लक्षणहरू: ज्वरो, टाउको दुख्ने, मांसपेसी दुख्ने, आँखाका गेडी दुख्ने, शरीरमा रातो दाना देखिनु, ढाड दुख्ने। जटिल अवस्थामा रक्तस्राव, प्लाज्मा लिकेज जस्ता गम्भीर अवस्था देखिन सक्छ। विशेषगरी बच्चा, वृद्ध, तथा दीर्घरोगीहरू बढी जोखिममा रहने भएकाले सतर्कता अपनाउन स्वास्थ्य विशेषज्ञहरूले आग्रह गरेका छन्।
बच्ने उपाय:
१. लामखुट्टेको टोकाइबाट बच्ने (झुल प्रयोग, जाली लगाउने, शरीर ढाक्ने लुगा लगाउने)
२.घर वरिपरि पानी जम्न नदिने
३.गमला, टायर, कन्टेनरहरूबाट पानी फाल्ने
४.लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सामेल हुने




0 comment