काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक बस्दैछ । सोमबार तीन मन्त्री नियुक्त गरेलगत्तै प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएकी हुन्।

बैठक दिउँसो ४ बजे सिंहदरबारमा बस्ने तय भएको छ। बैठकले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गर्ने स्रोतले बताएको छ । 

मन्त्रीहरुले पदभार ग्रहण गर्दा गरेका निर्णयलाई प्रस्तावको रुपमा राख्ने त्यसैलाई औपचारिक रुपमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

आजै शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शपथ गराएका थिए।

खनाललाई अर्थ, अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला तथा घिसिङलाई ऊर्जासँगै सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।