काठमाडौं - जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी आन्दोलनकारीहरूलाई संसद् विघटन नगर्न आग्रह गरेका छन्। बिहीबार बिहान विज्ञप्ति जारी गर्दै राउतले वर्तमान राजनीतिक संकटको समाधानका लागि सातबुँदे प्रस्ताव सार्वजनिक गरेका हुन्।
उनले अर्को निर्वाचन नभएसम्म वर्तमान संसद् नै वैध निर्णय गर्ने थलो भएकाले संसद् भंग नगर्न सुझाव दिएका छन्। संसद् विघटनले देशलाई अनिर्णय, अस्थिरता र वैधताविहीनताको दलदलमा धकेल्ने चेतावनी उनले दिएका छन्।
‘देश अर्को १० वर्ष अनिश्चिततामा अल्झिने खतरा छ,’ राउतले भनेका छन्, ‘जनताले बनाएको संविधान खारेज गर्ने र संसद् भंग गरेर रिक्तता सिर्जना गर्नु गम्भीर गल्ती हुनेछ।’
उनले जेन–जीलाई बाह्य उक्साहटमा नफसिन सुझाव दिँदै भनेका छन्, ‘यदि संविधान र संसद् भंग गर्नुभयो भने फेरि तपाईंहरूलाई संविधान बनाउनमै दशक लाग्नेछ।’
राउतले वर्तमान संसद् कायमै राखी ६ महिनाभित्र निर्वाचन गरेर नयाँ जनप्रतिनिधिहरूलाई चयन गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन्। त्यसका लागि अन्तरिम सरकार गठन गरी प्रक्रिया अघि बढाउन उनले अपिल गरेका छन्।


0 comment