काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले  विदेशी स्याउ आयातमा २ महिना प्रतिबन्ध लगाए जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै शाहीले विदेशी स्याउ आयातमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

विदेशी स्याउमा विषादी मिसाइएको हुने गरेको जनाउँदै उनले भने, ‘स्वास्थ्यमा समस्या देखिने स्वदेशी स्याउको लागि बजार सुनिश्चित गर्नुपर्छ ।’ सबै सांसद एवं संसद् सचिवालयका कर्मचारीहरूलाई समेत जुम्लाको स्याउ किनिदिन शाहीको आग्रह थियो ।

‘अहिले जुम्लाको स्याउ बजारमा आएको छ । सबै माननीयज्यूहरूले किनिदिनुहोला ।  सकभर एकदुई महिना विदेशी स्याउ आयात रोकिदिनुहोस् । त्यो भयो भने जुम्लाको स्याउले मार्केट पाउँछ र किसाले पैसा पाउँछ,’ उनले भने ।

सरकारले गुणस्तर जाँच गरेर मात्र विदेशी स्याउ आयात गर्नुपर्नेमा उनको जोड छ । स्याउ बिक्रीका लागि राजधानी ल्याउँदा प्रहरीले जाँचको नाममा हैरानी दिने गरेको भन्दै सांसद शाहीले  गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराए ।