काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण रोकिएको विषय आगामी विधान महाधिवेशनमा प्रमुख रूपमा उठ्ने बताएका छन्।

काठमाडौंमा सोमबार आयोजित अन्तरसंवाद कार्यक्रममा पाण्डेले नेपालको संविधानले नागरिकलाई राजनीतिक गतिविधिमा भाग लिन नरोकेको हुँदा कुनै राजनीतिक दलको विधानले मात्र सदस्य बन्न नदिने कुरा स्वीकार्य नहुने तर्क गरे।

‘नेपालको संविधानले कसैलाई पनि राजनीति गर्न निषेध गरेको छैन, राष्ट्रपतिलाई पनि पदमा रहँदासम्म मात्र निषेध हो,’ उनले भने, ‘संविधानले नरोकेको कुरा पार्टीको विधानले रोक्न मिल्छ र?’

पाण्डेले पार्टी सदस्यता नवीकरणलाई लिएर अनावश्यक आत्तिनु नपर्ने उल्लेख गर्दै सदस्यता दिने वा नदिने अधिकार कुनै एक व्यक्तिको नभई महाधिवेशन प्रतिनिधिहरूको हुने बताए।

‘कोही सदस्य भयो भनेर सिधै अध्यक्ष हुन्छ भन्ने होइन, तर सदस्यबाट कसैलाई बञ्चित गर्न पाइँदैन,’ उनले भने, ‘यो विषय विधान महाधिवेशनमा उठ्छ, र पार्टीले यसबारे स्पष्ट निर्णय गर्छ।’

विद्या भण्डारीको विषयमा पार्टी पछाडि नहट्ने बताउँदै उनले पार्टीलाई अन्ततः सदस्यता नवीकरण गर्न बाध्य बनाइने दाबीसमेत गरे।

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ। यही महाधिवेशनमा पार्टीको विधानसम्बन्धी विवाद, विशेषतः विद्या भण्डारीको सदस्यता नवीकरण रोकिएको विषयमा गहिरो बहस हुने अनुमान गरिएको छ।