काठमाडौं — चन्द्रागिरि नगरपालिका वडा नं १ बालश्रम मुक्त वडा घोषणा भएको छ । वडाले एक भव्य कार्यक्रम गरी वडालाई बालश्रम मुक्त वडा घोषणा गरेको हो । वडाले विभिन्न चरणमा बालश्रमको अनुगमन गरेको थियो वडा क्षेत्रभित्र सञ्चालित उद्योग कारखानाहरुबाट ७ जना बालबालिकालाई उद्धार गरी परिवारमा पुर्नमिलन गराएको थियो । घोषणा कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख घनश्याम गिरिले बालबालिकाको संरक्षणका लागि नगरपालिका सक्रिय भएर काम गरिरहेको बताउनु भयो । शुभ चन्द्रागिरि वडा १ बालश्रम मुक्त वडा भएकोमा हार्दिक बधाई दिदै नगरप्रमुख गिरिले अब सिङगो नगरपालिकालाई नै बालमैत्री नगर बनाउने अभियानमा आफू लागेको बताउदै बालश्रम मुक्त वडा बनाउनु पनि बालमैत्रीको एउटा सूचक भएको उल्लेख गर्दै बालबालिकालाई श्रमशोषणबाट जोगाउनु संरक्षण गर्नु तपाई हामी सबैको दायित्व भएको बताउनु भयो । 


शुभकामना मन्तव्यको क्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठले बालश्रम विरुद्धको अभियानमा नगरपालिका त लागेकै छ स्थानीय उद्योगी व्यवसायि नगरबासीहरुको पनि त्यत्तिकै साथ  सहयोग हुनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा बाल विकास समाज तथा वल्र्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधिहरुले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । मन्तव्यको क्रममा बालसंरक्षण बालअधिकारको सवालमा हामी सधै हातेमालो गर्न तयार छौं उहाँहरुको भनाई थियो । पञ्चेवाजासहितको र्यालीले वडा परिक्रमा गरेको थियो भने वडा घोषणाका लागि सक्रिय रुपमा खटिएर काम गर्ने वडा स्तरीय बालअधिकार समितिका पदाधिकारी, वडाका कर्मचारी, संस्थाका कर्मचारी लगायत विभिन्न संघ संस्था उद्योगीहरुलाई कदर पत्र तथा सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम समापनको क्रममा वडा अध्यक्ष हरिश्याम राना मगरले यो वडाले बालश्रम मुक्त वडा घोषणा गर्ने सवालमा सहयोग गर्नुहुने संघ संस्था वडाका कर्मचारी लगायत वडावासी सबैलाई धन्यवाद भन्दै वडा क्षेत्रभित्र रहेका उद्योग कारखाना होटेलहरुमा जो कोहीले पनि १८ वर्षमुनीका बालबालिकालाई श्रममा लगाएको भेटिए तत्काल वडामा रहेको बाल अधिकार समितिलाई जानकारी गराउन आग्रह समेत गर्नु भएको थियो । नगरपालिकामा १५ वटा वटा मध्ये १४ वटा वडा बालश्रम मुक्त वडा घोषणा भइसकेका छन भने वडा नं. १४ बालमैत्री वडा घोषणा हुने तयारीमा रहेको छ । चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त वडा तथा नगर घोषणाका लागि बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग र सहकार्य रहेको कुरा बाल विकास समाजका फिल्ड अधिकृत दिपेन्द्र पराजुलीले बताउनु भयो । देशभर १० वटा पालिका बालश्रम मुक्त पालिका घोषणा भइसकेका छन ।