काठमाडौं - प्रधानमन्त्री केपी ओलीले आज संसद्‌मा गर्ने सम्बोधन आफूहरुले बहिष्कार नगर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ ।

भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद् बहिष्कार गर्दै आएको रास्वपाले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार नगर्ने भएको हो । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले शुक्रबार आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी गराउने कार्यक्रम छ ।

सभामुखसँगको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले गर्ने सम्बोधन आफूहरुले बहिष्कार नगर्ने बताए ।

सदनमा बोल्न पाउने प्रधानमन्त्रीको अधिकारको कुरा भएको उल्लेख गर्दै बोल्न पाउने कुरा अग्राधिकारमा रहने उनले जिकिर गरे । आफूहरू संसद्‌मा आन्दोलनमै भए पनि कतिपय काम ख्याल गर्नुपर्ने उनको भनाइ छ ।