काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भारतसँगका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका सीमा समस्या आपसी संवाद र सहमतिबाट समाधान गर्नुपर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले छिमेकी मित्रराष्ट्र भारतसँग संवाद प्रक्रिया थालेर सीमा समस्या समाधान गर्न वर्तमान सरकारलाई सुझाव दिएका हुन्।
उनका अनुसार प्रधानमन्त्रीका रूपमा पछिल्लो भारत भ्रमणको क्रममा आयोजित पत्रकार सम्मेलन (प्रेस ब्रिफिङ) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाँकी रहेका सीमासम्बन्धी समस्या संवादबाटै हल गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
दाहालले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा पनि छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर हुन सीमा समस्या समाधान अपरिहार्य रहेको स्पष्ट रूपमा उठाएको बताएका छन्।
उनले विगतमा पनि सीमा विवाद समाधानका लागि भारतीय प्रधानमन्त्री मोदीबाट प्रतिबद्धता व्यक्त भएको स्मरण गराए।


0 comment