काठमाडौं - प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिका लागि आज मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।
आज दिउँसो १ बजेदेखि ४ बजेसम्म सचिवालयका सचिवको कार्यकक्षमा मनोनयन गर्न सकिने कार्यतालिकामा उल्लेख गरिएको छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोली दिउँसो तीन बजे समिति बैठक बसेर निर्वाचन गर्ने तालिका रहेको छ ।
संसद सचिवालयका सचिव हर्कराज राईले सभापति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन् ।
समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनि अर्को एक सदस्यको समर्थन सहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिने कार्यतालिकामा उल्लेख गरिएको छ ।
राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा विवाद भएपछि नैतिकताका आधारमा राजीनामा दिँएपछि समितिको पद अहिले खाली छ ।
सङ्घीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चुनिसक्नु पर्ने व्यवस्था छ । त्यसैले भोली निर्वाचन गरेर नयाँ सभापति चयन गर्न लागिएको हो । दलहरूबिच भागबन्डा हुँदा कांग्रेसको भागमा परेको समिति सभापतिको टुंगो भने अझैसम्म कांग्रसले लगाउन सकेको छैन ।
सभापति कसलाई बनाउने भन्ने बिषयमा टुंगो लगाउन आज बिहान ११ बजे कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दैछ ।


0 comment