काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणाले पार्टी नेतृत्वलाई आगामी महाधिवेशन प्रभावित पार्ने कुनै पनि कार्य नगर्न आग्रह गरेका छन्।

काठमाडौंमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै राणाले मंसिरमा हुने तय भएको महाधिवेशन समयमै, निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न हुनुपर्नेमा जोड दिए।

उनले महाधिवेशनको मुखमा एकलौटी रूपमा नेताहरूलाई हटाउने र स्पष्टीकरण माग्ने जस्ता गतिविधिहरूले देशभरका कार्यकर्तामा चिन्ता बढाएको दाबी गरे। पार्टीभित्रका निर्णयहरू विधि र विधानअनुसार हुनुपर्ने उल्लेख गर्दै उनले नेतृत्वले एकपक्षीय ढंगले निर्णय गर्दा संगठनमा समस्या देखिएको बताए।

‘महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सबै पक्षका लागि सहज र बाधारहित हुनुपर्छ,’ राणाले भने, ‘यदि अध्यक्षले सबैलाई समेटेर अघि बढ्न खोजे समाधान नहुने कुनै कारण छैन, तर एकलौटी निर्णय लिने प्रवृत्ति स्वीकार्य हुँदैन।’

महामन्त्री राणाले राप्रपा नफुट्ने स्पष्ट पार्दै नेतृत्वका विषयमा केही मतभेद रहे पनि पार्टी फुटाएर अघि बढ्ने सोच नरहेको बताए। उनले महाधिवेशनको मिति यथाशिघ्र तोक्न पनि पार्टी नेतृत्वलाई आग्रह गरे।