काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयक जनविरोधी भएको भन्दै देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

जसपाको केन्द्रीय सचिवालयको बैठकले ‘भूमि र वन बचाऔँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऔँ’ अभियान अन्तर्गत भदौ ९ देखि १५ गतेसम्म देशभरका विभिन्न शहरमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो।

पार्टीका महासचिव लालबाबु राउतले शनिबार विज्ञप्ति जारी गर्दै सरकारको भूमि विधेयक भू–माफिया र जग्गा दलालको पक्षमा गएको आरोप लगाउँदै आम नागरिकलाई विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते विधेयक प्रक्रिया अगाडि बढेपछि जसपाले यसको कडा प्रतिवाद गर्ने निर्णय लिएको हो।

जसपाले उक्त विधेयकले वन–जंगल विनाश, भूमिको अव्यवस्थित दोहन, र तराई–मधेसलाई मरुभूमिकरणतर्फ लैजाने खतरातर्फ चेतावनी दिँदै यस्ता विधेयकलाई स्थानीय समुदायको जीविकोपार्जन र वातावरणीय सन्तुलनविरुद्धको षड्यन्त्रको रूपमा व्याख्या गरेको छ।

जसपाले सरकारलाई विधेयक फिर्ता लिन आग्रह पनि गरेको छ।