काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसवादी दलहरूबीच फेरि एकता हुने सम्भावना बढ्दै गएको बताएका छन्।
शनिबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालको राजनीति स्वाभाविक रूपमै फुट, जुट र फेरि मिलनको चक्रमा घुमिरहने उल्लेख गरे। मधेसवादी दलहरू पनि यसै प्रवृत्तिको सिकार हुँदै आएको उनले स्पष्ट पारे।
‘नेपालको राजनीतिमा एकता, मिलन, विछोड सँगसँगै गइरहने कुरा हो। फुट पनि भइरहेको छ, जुट पनि भइरहेको छ। जुटेर फेरि फुट्ने पनि भइरहेको छ,’ यादवले भने, ‘यो क्रम नेपालको राजनीतिको विशेषता नै हो। अहिले फेरि जुट्ने सम्भावना बढ्दै गएको छ।’
पछिल्लो समय मधेस केन्द्रित राजनीति पुनः सक्रिय बन्दै गएको देखिएको छ। हालै अनिलकुमार झाले नेपाल सद्भावना पार्टी पुनः सक्रिय बनाएका छन्। यसलाई पनि यादवले सम्भावित एकताको संकेतका रूपमा हेरेका छन्।
उनका अनुसार विगतमा वैचारिक वा सैद्धान्तिक मतभेदभन्दा पनि कार्यनीतिक असहमति, तत्कालीन राजनीतिक घटना र परिस्थितिको असरका कारण दलहरू विभाजित हुँदै आएका छन्।
‘हामीले देख्दै आएका छौं, धेरैजसो विभाजनहरू तात्कालिक समस्या वा सन्दर्भले उत्पन्न हुने गरेका छन्, कुनै गहिरो वैचारिक मतभेदका कारण होइन,’ उनले भने।
मधेसवादी दलहरू विगत दुई दशकमा पटक–पटक फुट्दै, जुट्दै आए पनि दीर्घकालीन एकता कायम राख्न भने नसकेको यथार्थ छ। संविधान निर्माणदेखि संघीय संरचना निर्माणसम्म महत्वपूर्ण भूमिका खेलेका दलहरू अहिले पुनः रणनीतिक रूपमा एक ठाउँमा आउने प्रयासमा देखिन थालेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार मधेसमा जनाधार बलियो बनाइराख्न दलहरूको एकता अपरिहार्य देखिएको छ।


0 comment